सल्यान, १० असार । सल्यानको कपुरकोटले नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । बुधबार सातौँ गाउँसभामा गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनले आर्थिक वर्ष २०७७/०७८ को नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् ।
कोरोना विरुद्ध स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सघन परिचालन गरिने तथा गाउँपालिकामा रहेको ५० बेडको आइसोलेसन सेन्टर, क्वारेन्टीनको ब्यवस्थापन गर्दै स्तरिय बनाउदै लैजाने नीति, कार्यक्रममा उल्लेख छ ।
गाउँपालिका अध्यक्ष सेनले ३१ करोड २९ लाख ९५ हजार रुपैया अनुमानित बजेट सभामा प्रस्तुत गरेको गाउँसभाका सचिव तथा प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारीले जानकारि दिए ।
कृषिको आधुनिकीकरण, यान्त्रीकिकरण, उन्नत जातका तरकारीको वीउ उत्पादन, कृषि तथा पशु क्षेत्रको विकासका लागि हरेक वडामा प्राविधिक जनशक्तिको ब्यवस्थाको लागि गाउँपालिकाले जोड दिएको छ ।
महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण भारत लगायत अन्य क्षेत्रबाट रोजगारी गुमाइ गाउँपालिका फर्किएर आएका व्यक्तिहरुको अभिलेख तयार गरी उक्त अभिलेख भित्र रहेका तथा विपन्न बेरोजगारहरुको लागि स्थानीय स्तरमा रोजगारी श्रृजना गर्ने नीति गाउँपालिकाको छ ।











