इन्द्रेणी संवाददाता
काठमाडौं, २१ बैशाख। यातायात बन्दै गराउनेलाई पक्राउ गर्न गरिएको गृहमन्त्रालयको निर्देशन अनुसार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव पक्राउ परेका छन् । शुक्रबार प्रहरीले महासंघका महासचिव सरोज सिटौलालाई भृकुटीमण्डपबाट पक्राउ गरेको हो ।
रिपोर्टस क्लबको कार्यक्रममा सहभागी हुने क्रममा भृकुटीमण्डपबाट पक्राउ परेका सिटौलालाई महानगरीय प्रहरी बृत्त सिंहदरबारमा राखिएको प्रहरीले जनाएको छ । त्यस्तै बुटवलमा पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष जीवन बन्जाडे र महासचिव पदम गाहा मगरलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
यातायात व्यवसायीको बैंक खाता रोक्का, सम्पत्तिमाथि छानबिन
सिन्डिकेट पक्षधर यातायात व्यबसायीबिरुद्ध सरकारले कडा कदम चालेको छ । यो पक्षमा रहेका यातायात समिति र समितिका पदाधिकारीको सम्पत्ति छानबिनको प्रक्रिया अगाडी बढाउनुका साथै बैङ्क खाता समेत रोक्ककाको प्रक्रिया अगाडि बढाएको छ ।
यातायात समितिको सम्पत्ति छानबिनका विषयमा निर्णय गर्न गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षमा अर्थ, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उच्च अधिकारी बैठक बस्ने तयारी भएको छ।











