विराटनगर, ६ माघ । विराटनगरका व्यवसायी पशुपति भगतमाथि साङ्घातिक आक्रमण भएको छ। पेट्रोलियम एवं सब्जी व्यवसायी भगतमाथि पेशेवार रुपमा गुण्डागर्दीमा संलग्न समूहले शुक्रबार राति आक्रमण गरेर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ।
कोसी अञ्चल अस्पताल विराटनगरमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि राति नै विराट नर्सिङ होममा लगिएको छ। उपचारमा संलग्न चिकित्सकले शल्यक्रिया गर्नुपर्ने बताएका छन्।
उनीमाथि शरीरका विभिन्न भागमा खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ। घाइतेको देव्रे घुँडाको हड्डी आधा काटिएको छ। देव्रे हात र ढाडमा पनि खुकुरीले काटेको गहिरो चोट छ।











