इन्द्रेणी संवाददाता
दाङ, ९ मंसिर । उपप्रधानमन्त्री तथा दाङ क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णबहादुर महराले अबको पाँच वर्षमा दाङलाई मुलुककै नमूनाको रुपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन् ।
आज तुलसीपुर उपमहानगरपालिकाको वडा नं. १६ सजनवामा आयोजित कार्यक्रममा बोल्दै नेता महराले आफू सञ्चारमन्त्री भएको समयमा सबैको हातहातमा मोवाइल घर घरमा इन्टरनेट हुन्छ भन्दा सबैले हास्यात्मक भनेको तर अहिले सबैको हातहातमा मोवाइल र घरघरमा इन्टरनेट भएको उल्लेख गर्दै अबको पाँच वर्षमा दाङमा मुलुककै नमूना शहरको रुपमा विकास हुने बताए ।
‘म सञ्चार मन्त्री भएको वेला सबैको हातहातमा मोवाइल र घरघरमा इन्टरनेट बनाउछस भन्दा मलाई पागलै भन्थ्ये तर त्यो आज तपाइँको हातहातमै छ, घरघरमै छ’, उनले भने,‘त्यस्तै अबको पाँच वर्षमा दाङलाई मुलुकै नमुना सिटीको रुपमा विकास गर्ने र यहाँको सबैखाले विकास गर्ने मेरो उद्देश्य हो ।’
दाङलाई लुम्विनी, रारा र स्वर्गद्धारी जस्ता पर्यटकिय क्षेत्रसँग जोडन सकिने र यहाँको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत मेडिकल कलेजहरु सञ्चालन गरेर स्वास्थ्य क्षेत्रको विकास गर्न सकिने उनको भनाइ थियो । यसरी पर्यटकिय क्षेत्र र स्वास्थ्य क्षेत्रको विकास सँगै अन्य विकासको पनि सम्भावना भएकाले दाङ मात्रै होइन प्रदेश नं. ५ नै पश्च्मि नेपालको नमूना प्रदेशको रुपमा विकास गर्ने आफ्नो संकल्प भएको नेता महराले बताए ।
विगतको समय संविधान निर्माणमा खर्चिएको र अबको समय भनेको मुलुकलाई संमृद्धितर्फ लैजाने समय भएको उल्लेख गर्दै उनले बाम गठबन्धनले चुनाव जित्नसाथ मुलुक संमृद्धिको नयाँ मोडमा पुग्ने दावी गरे । दाङको संमृद्धि र प्रदेश नं. ५ को संमृद्धिका लागि आफूलगायत यहाँका बाम उम्मेदवारलाई मतदान गरी जिताउन उनले सबै मतदातालाई आग्रह गरे ।










