इन्द्रेणी संवाददाता
दाङ, ९ मंसिर । उपप्रधानमन्त्री तथा दाङ क्षेत्र नं. २ का प्रतिनिधिसभाको प्रत्यक्ष तर्फका उम्मेदवार कृष्णबहादुर महराले दाङलाई पश्चिम नेपालको केन्द्र वनाउने आफ्नो संकल्प भएको बताएका छन् ।
रिपोर्टस क्लव दाङले गरेको हिजो आयोजना गरेको सडक साक्षात्कार कार्यक्रममा नेता महराले प्रदेश नं. ५ को राजधानी दाङमै हुने प्रष्ट पारे । उनले दाङलाई पश्चिम नेपालकै केन्द्रका रुपमा बिकास गर्ने समेत बताए ।
रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि समेत रहेका महराले दाङलाई पर्यटनको हबको रुपमा बिकास गर्न रारा सम्म सडक बिस्तार गर्ने बताए । ‘दाङलाई केन्द्र वनाएर चारै तिरवाट सडक सञ्जालले जोड्ने हो भने पश्चिम नेपालकै केन्द्र बन्छ’ उनले भने । दाङ हरेक हिसाबले सबल जिल्लाको रुपमा रहेको भन्दै उनले प्रदेशको राजधानी दाङमै हुने ठोकुवा गरे ।