काठमाडौं, साउन ३१ । 
स्वास्थ्य मन्त्रालयले नक्कली प्रमाणपत्रधारी आरोप लागेका चिकित्सकलाई कामबाट फिर्ता हुन २४ घण्टे निर्देशन दिएको छ । करारमा कार्यरत डाक्टरहरुसँगको सम्झौता रद्द गर्ने निर्णय पनि मन्त्रालयले गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार मात्र स्वास्थ्य मन्त्रालयका सचिव डा.सेनेन्द्रराज उप्रेतीलाई नक्कली भनिएका डाक्टरलाई बिरामी जाँच्न नदिन निर्देशन दिएका थिए ।doctor

त्यसलगत्तै मन्त्रालयमा सचिवस्तरीय बैठक बसेर ती चिकित्सकलाई २४ घन्टाभित्र मन्त्रालयमा बोलाउने तथा करार र अस्थायी सरकारी चिकित्सकको करार सम्झौता भंग गर्ने निर्णय भएको हो । २४ घण्टाभित्र हाजिर हुन भनिएका सरकारी स्थायी डाक्टर तीन तथा करार सम्झौतामा कार्यरत सरकारी डाक्टर भने पाँच जना रहेको बताइएको छ ।

निजी अस्पतालमा कार्यरत चिकित्सकको भने लाइसेन्स निलम्बन गर्न नेपाल मेडिकल काउन्सिलमा पत्राचार गरिएको मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिएका हुन् । प्रहरीले चलाएको अपरेशन क्वाकबाट हालै ३७ जना चिकित्सक नक्कली प्रमाणपत्रकै आधारमा यस पेशामा संलग्न भएको तथ्य फेला परेको थियो ।।