काठमाण्डौ, ३० साउन
व्यवस्थापिका संसद बैठकमा अर्थ समितिले विभिन्न तीन वटा विधेयकमाथिका प्रतिवेदन पेश गरेको छ । समिति सभापति प्रकाश ज्वालाले लेखा परीक्षण पहिलो संशोधन विधेयक २०७१, कर्मचारी संचय कोष नवौं संशोधन विधेयक २०७१ र नेपाल राष्ट्र बैंक दोस्रो संशोधन विधेयक २०७१ सम्बन्धी समितिका प्रतिवेदन पेश गर्नुभएको हो ।

samsad
समितिले तीनवटै विधेयक दफावार छलफलका लागि गत माघ ५ गते समितिमा पठाएको थियो । समितिले अलग–अलग उपसमिति गठन गरेर विधेयकहरुमाथि प्रतिवेदन तयार पारी संसदमा पेश गरेको हो । बैठकले दुई वटा विधेयकहरु भने छलफलका लागि विधायन समितिमा पठाएको छ । न्याय प्रशासन विधेयक र न्याय परिषद विधेयक २०७३ लाई दफावार छलफलका लागि विधायन समितिमा पठाइएको हो ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले दुवै विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउनका लागि प्रस्ताव गरेकामा बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो । प्रस्ताव स्वीकृत गरेसँगै संसद बैठक भदौ १ गतेसम्मका लागि स्थगित भएको छ ।।