जाजरकोट, १० बैशाख
जाजरकोट जिल्ला प्रहरी कार्यालयले ग्रामिण गस्ति थालेको छ । प्रहरी नायव उपरिक्षकको नेतृत्वमा ग्रामिण गस्तिमा गाउँमा गएको प्रहरीले व्यवसायिक अफिम खेती नष्ट गरेको छ ।
प्रहरी नायव उपरिक्षक दानबहादुर मल्लको नेतृत्वमा वुधवार जिल्लाको पुर्वी भागमा गएको ग्रामिण गस्ति टोलीले खगेनकोट ८ झाक्रिकोटमा झण्डै २४ रोपनी जग्गामा व्यवसायिक रुपमा खेती गरिएको लागु औषध अन्तरगतको अवैध अफिम खेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
गस्तिमा गएको प्रहरी टोलीले गाउँ–गाउँमा लागू औषध तथा दुर्वेशन सम्वन्धि नागरिक शिक्षा चलाउने जिल्ला प्रहरी कार्यालय प्रवक्ता तथा प्रहरी निरिक्षक हिक्मत वोहराले जानकारी दिनुभयो । साथै उहाँले वुधवार देखि ग्रामिण गस्तिमा गएको प्रहरी टोली भगवति गाविसको खातिगुर्तामा गरिएको अफिम खेतीलाई नष्ट गर्ने टोलीको लक्ष्य रहेको जानकारी दिनुभयो ।
त्यसैगरी प्रहरी साहयक निरिक्षक मिनराज पौडेलको नेतृत्वमा वुधवार गएको प्रहरी गस्ति टोलीले भेरीमालिका नगरपालीका १ रिम्नामा भेरी त्रिवेणी आमा समुहको समन्वयमा अवैध घरेलु मदिरा, कच्चा पदार्थ र मदिरा उत्पादन गर्ने भाँडा नियन्त्रणमा लिई स्थानियवासीको रोहवरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।।