इन्द्रेणी संवाददाता
दाङ, २९ साउन
नेपाल आदिवासी जनजाति महासंघ देउखुरीले २२ औं विश्व आदिवासी दिवस गोबरडिहाको पचुहियामा मनाएको छ । गोबरडिहा गाउँ समन्वय परिषद्का अध्यक्ष जगतराम चौधरीको अध्यक्षता तथा जिल्ला समन्वय परिषद्का सचिव लिला गम्भीरको प्रमुख आतिथ्यमा भएको कार्यक्रमका सहभागीहरुले आदिवासी जनजातिहरुले आफ्ना हकअधिकारका लागि स्वयम् आफू नै सचेत रहनुका साथै राज्यस्तरबाट पनि पहल हुनु पर्ने कुरामा जोड दिएका छन् ।janajati-feature-800x500_c

अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि–१६९ ले आदिवासी जनजाति लगायतका समुदायका हकअधिकारका विषय उल्लेख गरिएपनि राज्यको संकीर्ण सोच र नेतृत्वमा रहेका जनजातिहरु नै यस विषयमा चासो नदिएकै कारण कार्यान्वयन हुन नसकेको चिन्ता व्यक्त गरे । यसका लागि सबै आदिवासी जनजातिहरु सचेत भई कार्यान्वयनका लागि लाग्नु पर्ने धारणा पनि सहभागीहरुले राखे ।

साथै सहभागीहरुले आदिवासी जनजातिका आफ्ना मौलिक कला, संस्कृति बाह्य संस्कृतिको प्रभावका कारण लोप हुँदै गएकोमा पनि चिन्ता व्यक्त गरे । उनीहरुले खुल्ला सीमानाका कारण भारतीय लगायत बाह्य संस्कृतिको प्रभावले आदिवासी जनजातिहरुका सांस्कृतिक पहिचान नै लोप हुने अवस्थामा पुगेकोले यसको लागि सचेत वर्ग र राज्यस्तरबाट संरक्षणका लागि पहल हुनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा महासंघका क्षेत्रीय अध्यक्ष लेखतबहादुर राना, गोबरडिहा गाविस सचिव बुद्धिमान चौधरी, लमही नगर समन्वय परिषद्का अध्यक्ष छविलाल कोपिला, गंगापरस्पुर गाउँ समन्वय परिषद्का अध्यक्ष कैलाश चौधरी, गढवा गाउँ समन्वय परिषद्का सचिव सूर्यबहादुर बुढा, बुद्धिजीवी धनिराम चौधरी, लमही नगर समन्वय परिषद्की सहसचिव एवम् सञ्चारकर्मी यमुना पुन लगायतले शुभकामना सहित आ–आफ्नो धारणा राख्नु भएको थियो ।

महासंघका गोबरडिहा गाउँ समन्वय परिषद्का सदस्य चञ्चला चौधरीको स्वागतबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव प्रेमलाल चौधरीले गर्नु भएको थियो ।।