सल्यान, २९ साउन ।
सल्यानमा स्थानीय निकायको संख्या तथा सीमानाको कुनै टुंगो लाग्न सकेको छैन । त्यहाँ क्रियासिल राजनीतिक दलहरुले अहिले सम्म आफ्नो धारणा सार्वजनिक गर्न सकेका छैनन् । स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितीले साउन मसान्तभित्र प्रतीवेदन तयार गर्न नसक्ने भएको छ । राजनीतिक दल तथा अन्य विभिन्न पक्षको सुझाव अनुसार अब समितिले स्थानीय तह पुनर्संरचना सम्बन्धि आयोगलाई सल्यानमा स्थानीय तहको संख्या बढाउन आग्रह गर्नेभएको छ ।
आज विहान बसेको समितीको बैठकले स्थानीय तहको संख्या बढाउन र समितिलाई प्रतिवेदन तयारपार्न दिएको समय थप्न अनुरोध गर्ने निर्णय गरेको समितिका सदस्य सचिव पूर्ण ओलीले जानकारी दिनुभयो ।
समितिका संयोजक स्थानीय विकास अधिकारी रामचन्द्र पौडेललको अध्यक्षतामा बैठक बसेको हो ।
हिजो बसेको जिल्लास्तरिय परामर्षा कार्यशाला गोष्टीले सल्यानमा ७ वटासम्म स्थानीय तह बनाउने कार्यविधि आएपनि त्यो संख्या कम भएकोले खाका नै प्रस्तुत गर्न नसक्ने निष्कर्ष निकालेको थियो ।।