जनकपुर, साउन २८ 
सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गरी जनताको हक अधिकार सुनिश्चित नगरिए भविष्यमा देश कुनैपनि बेला विखण्डनतिर जाने खतरा रहेको बताउनुभएको छ । शुक्रबारदेखि जनकपुरमा आयोजित दुईदिने सङ्घीय समाजवादी फोरम नेपालको तराईमधेस प्रदेश भेलाको उद्घाटन गर्दै अध्यक्ष यादवले भन्नुभयो, ‘वर्तमान संविधानमा धेरै त्रुटि भएकाले यसको संशोधन होइन पुनर्लेखन गर्नुपर्दछ ।’

upendra-yadav
संविधान संशोधनको सबैभन्दा ठूलो बाधक ओली सरकार भएकाले त्यो सरकारलाई संसदीय अस्त्र प्रयोग गरी धरासायी पारिएको भन्दै अध्यक्ष यादवले भन्नुभयो, ‘जबसम्म संविधान संशोधनबाट समस्या समाधान गरिँदैन तबसम्म देश अशान्त रहन्छ ।’
संविधान संशोधन गर्न दुई तिहाइ बहुमत चाहिन्छ जुन यो सरकारसँग छैन भन्दै अध्यक्ष यादवले थप्नुभयो, ‘तरपनि संविधान संशोधन हुँदैन भने हामी यो संविधान खारेज गरी आठौँ संविधान ल्याउँछौँ ।’ अहिलेको संविधानमा जुन सङ्घीयता छ त्यो सङ्घीयता नभएको भन्दै अध्यक्ष यादवले भन्नुभयो, ‘सङ्घीयतामा पहिचान, स्वायत्तता र आत्मनिर्णयको अधिकार हुनु पर्दछ ।’ रासस