काठमडौ २९ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले खाडी मुलुकका विभिन्न जेलमा रहेका नेपालीको सम्बन्धमा गम्भीर चासो राख्नुभएको छ ।
परराष्ट्र सचिव शङ्करदास बैरागीलाई शुक्रबर प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइ प्रधानमन्त्री दाहालले खाडी मुलुकमा रहेका नेपालीका समस्याबारे गम्भीर चासो राख्दै जेलमा रहेका नेपालीको ठोस तथ्याङ्क दिन निर्देशन दिनुभएको हो ।
वैदेशिक रोजगारीको खोजीमा खाडी मुलुक पुगेका नेपालीले दुःख पाएको, उनीहरुको पेसागत सुरक्षा नभएको तथा जेलमा कष्टकर जीवनयापन गर्न बाध्य भएको समाचार लगातार आउनु मुलुकका लागि समेत सुहाउँदो विषय नभएकाले तत्काल समस्याको समाधान गर्न प्रधानमन्त्रीले परराष्ट्र सचिवलाई निर्देशन दिनुभएको हो ।
नेपालीको कष्टकर अवस्था र जेलमा रहेका नेपाली नागरिकको रिहाइका लागि तत्काल पहल गर्न निर्देशन दिनुभएको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनोहरि तिमिल्सनाले जानकारी दिनुभयो ।