काठमाण्डौ, २८ साउन
व्यवस्थापिका संसद्को सुशासन तथा अनुगमन समितिले हवाइजहाज तथा हेलिकोप्टर दुर्घटना बढेको विषयमा छानविनका लागि उपसमिति गठन गरेको छ । समितिले आज पर्यटन सचिव प्रेमकुमार राई र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजिव गौतमसँगको छलफलपछि दुर्घटना हुनुमा नीतिगत कमजोरी रहे÷नरहेको बारेमा अध्ययन गरी सुझाव दिन ५ सदस्यीय उपसमिति गठन गरेको हो ।
उपसमितिमा अमरबहादुर थापा, ध्यानगोविन्द रञ्जित, हर्कबोल राई, दिलनाथ गिरी र नगेन्द्र कुमाल सदस्य छन् ।
समितिको बैठकमा पर्यटन सचिव प्रेमकुमार राईले दुर्घटना रोक्नका लागि पाइलटहरुलाई निगरानीमा राख्न आवश्यक रहेको बताउनुभयो ।
हवाइजहाज तथा हेलिकोप्टर उडाउनुअघि पाइलटहरुले मदिरा सेवन गरे÷नगरेको तथा उनीहरुको मानसिक अवस्था बारेमा जाँच गरिनुपर्ने र त्यसका लागि स्रोत साधनको अभाव हुन दिन नहुने उहाँको भनाइ छ । पछिल्लो एक सातामा मात्र दुई वटा हवाई दुर्घटना भएका छन् । साउन २० गते मकालु एयरको विमान दुर्घटनामा परेकामा साउन २४ गते नुवाकोटमा फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना भएको थियो ।।











