श्रावण २८ , काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यका संरचनाहरु प्रभावकारी र परिणाममूखी हुनुपर्ने बताउनुभएको छ ।
बिहीबार राष्ट्रिय सतर्कता केन्द्र स्थापनाको १४ औं वर्ष पुरा गरेको शुभ अवसरमा आयोजित वार्षिक स्थापना एवं वार्षिक प्रतिवेदन हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो ।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘हाम्रा कतिपय सरकारी संरचना फगत औपचारिकताका लागि बनेको जनगुनासो छ, सुशासनलाई प्रत्याभूति गर्ने गरी सरकारी संरचनाहरुलाई प्रभावकारी र परिणाममूखी हुनुपर्दछ ।’
समारोहमा प्रधानमन्त्रीले संविधानको परिमार्जनसहित कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, भूकम्पको पूनर्निर्माण र नवनिर्माण, प्रभावकारी जनसेवा सहितको सुशासन र आर्थिक समृद्धि सरकारका मूख्य प्राथमिकता भएको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘यसपटक हामीले जोखिमपूर्ण अवसर प्राप्त गरेका छौं । हामीमा राष्ट्र निर्माणको संकल्प हुनैपर्दछ, त्यसका लागि राज्यका सबै संरचनाले प्रभावकारी परिणाम दिन सक्नुपर्छ ।’
कार्यक्रममा व्यवस्थापिका–संसद सुशासन तथा अनुगमन समितिका सभापति मोहनसिंह राठौर, नेपाल सरकारका मूख्य सचिव डा। सोमलाल सुवेदी, राष्ट्रिय सतर्कता केन्द्रका प्रमूख अधिकृत, रामानन्दन प्रसाद यादव लगायतले बोल्नुभएको थियो ।











