काठमाडौँ, २८ साउन । नयाँ आर्थिक वर्षसँगै भूकम्पपीडितलाई दिइने अनुदान रकम रोकिएकोमा केही दिनभित्रै पुनः वितरण हुने भएको छ । नयाँ आर्थिक वर्षका लागि अर्थमन्त्रालयबाट कार्यक्रम स्वीकृत गरेर महालेखा नियन्त्रकको कार्यालयबाट अख्तियारी पाएपछि अनुदान रकम वितरणको कार्य सुरु हुने सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ ।
भूकम्पपीडितका लागि अनुदान सम्झौता गर्न र अनुदान रकम वितरणका लागि मन्त्रालयमा स्थापना भएको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले काम गर्दै आएको छ । मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराईका अनुसार अर्थमन्त्रालयबाट भूकम्पपीडितका लागि अनुदान वितरणका कार्यक्रम स्वीकृत भएर महालेखा नियन्त्रकको कार्यालयमा खर्चको अख्तियारीका लागि फाइल पुगिसकेको छ ।
यही महिनाबाट अनुदान वितरणको प्रक्रियालाई तीव्रता दिइने उहाँले बताउनुभयो । बिहीबारसम्म तीन लाख २१ हजार ८९१ जनासँग रकम वितरणका लागि अनुदान सम्झौता गरिसकेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदभार सम्हालेसँगै ४५ दिनभित्रमा भूकम्प प्रभावित १४ जिल्लाका पीडितलाई अनुदान रकमको पहिलो किस्ताको रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
