दाङ, २५ साउन । डुरुवा गाविसको कोठरीबाट काठमाडौं सिधा बस चल्ने भएको छ । कोठरीबाट खैरा हुँदै काठमाडौंसम्म बस सेवा संचालन हुने राप्ती अंचल सार्वजनिक यातायात व्यवसायी समितिका कार्यालय प्रमुख डा. लोकराज पराजुलीले जानकारी दिनुभयो ।
दाङको दक्षिणमा पर्ने कोठरीबाट काठमाडौंसम्म जानका लागि सिधा बस सेवा संचालन भएपछि डुरुवा गाविस, फूलवारी गाविस र त्रिपुर नगरपालिकाबाट काठमाडौं जानेहरुलाई सजिलो हुने भएको छ । मंगलबार त्यहाँ आयोजना गरिएको कार्यक्रममा समितिका सह कोषाध्यक्ष प्रितम श्रेष्ठ, कार्यालय प्रमुख लोकराज पराजुली, कर्मचारी युनियनका अध्यक्ष प्रकाश भट्ट, कार्यसमिति सदस्य पुष्पराज गिरी लगायतले कोठरीबाट रात्री बस चलाउनुपर्ने कारणबारे जानकारी दिनुभएको थियो ।
कार्यक्रममा निमावि कोठरीका प्रधानाध्यापक सन्तवहादुर खड्का, शिक्षक अनन्ता केसी, राप्रपा नेपालका प्रतिनिधी खिमवहादुर खड्का, गाविस सचिव चन्द्र प्रसाद अर्याल, युवा लक्ष्मण सागर शाह लगायतले राप्ती समितिले खैरा– काठमाडौं बस संचालन गरेको प्रति खुशी व्यक्त गर्नुभएको थियो । उनीहरुले आफूहरुलाई काठमाडौं जानका लागि टिकट काट्नका लागि घोराही वा तुलसीपुर जानुपर्ने झण्झटबाट मुक्ती मिलेको भन्दै खुशी व्यक्त गरेका थिए ।
कोठरीबाट दैनिक रुपमा आधा दर्जन भन्दा बढी बसहरु घोराही चल्ने गरेका छन् । काठमाडौं चल्ने बस अपरान्ह साढे चार बजे छुट्ने भएको छ । कोठरीबाट काठमाडौंका लागि आठ सय २५ रुपैया भाडा निर्धारण गरिएको छ ।
