काठमाडौं, २६ साउन । नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनमा प्रतिनिधि छनौटमा देखिएको विवाद समाधान भएको छ । मंगलबार राति निर्देशक समितिले विवाद टुङ्ग्याएपछि अब अवरुद्ध महाधिवेशन प्रक्रिया अघि बढ्ने नेविसंघले जनाएको छ ।

thamel-filre-4-of-27_fcq7w8iwd6_FyM2GzZMaQ

कांग्रेस नेता प्रकाशशरण महत संयोजक रहेको निर्देशक समितिले सबै विवाद प्याकेजमा समाधान गरेको प्रवक्ता युपि लामिछानेले जानकारी दिनुभयो ।११ जिल्लामा प्रतिनिधि छनौटबारे विवाद हुँदा बन्द सत्र सुरु हुन सकेको थिएन । मंगलबार र सोमबार रोकिएको बन्द सत्र बुधबार सुरु हुने लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार सबै पक्षलाई चित्त बुझ्ने ढंगले प्रतिनिधि विवाद हल भएको छ ।

 विवादित जिल्लाहरुमा विधि र प्रक्रियाबाट बनेको कार्यसमिति र महाधिवेशन प्रतिनिधिलाई मात्र अधिवेशनमा सहभागी गराउनुपर्ने एकथरीको माग थियो । तर समानान्तर कमिटीबाट छानिएका प्रतिनिधिले पनि अवसर पाउनुपर्ने अर्काथरी विद्यार्थीले जोड दिंदै आएका थिए ।

दुवै पक्षलाई चित्त बुझ्नेगरी ११ जिल्लाका प्रतिनिधिको नाम थपघट गरी विवाद मिलाउने प्रयास भएको हो । प्रतिनिधि विवाद मिलेपछि आमरण अनसनमा बसेका विद्यार्थीहरुले पनि आजै अनसन तोड्ने तयारी छ । बुधबार बन्द सत्र सुरु हुने भनिएपनि समय निश्चित भएको छैन । शुक्रबारसम्ममा नयाँ नेतृत्व चयन भइसक्ने लामिछानेले जानकारी दिनुभयो ।