कुसुम बिक / बाँके
चार वर्षअघि नेपालगञ्जबाट एक युवकको अपहरण गरी भारतमा पुर्‍याएर फिरौती रकम लिएर हत्या गर्ने मध्येकी एक महिलालाई प्रहरीले बाँकेको बेलभारबाट मङ्गलबार पक्राउ गरेको छ । अपहरणपछि हत्या गरेको विषयमा पुनरावेदन अदालत नेपालगञ्जबाट झण्डै १३ वर्ष कैद सजायको फैसला भएर फरार भएकी नेपालगञ्ज,२३ इन्द्रपुरकी सुष्मा बर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

image

अदालतले ९ लाख ५० हजार रुपैयाँ जरिवाना र ८ वर्ष ११ महिना १ दिन कैद सजाय सुनाएको थियो । पछि जरिबाना तिर्न नसकेपछि चारवर्ष कैद सजाय थपिदा १२ वर्ष ११ महिना १ दिन कैद सजाय तोकिएको थियो । सुष्मासहित ७ जनाले  २०६९ साल असार २६ गते नेपालगञ्ज, १० त्रिभुवनचोकका मुन्नु भनिने मोहम्मद अमिर अन्सारीलाई अपहरणगरी भारतमा पुर्‍याएका थिए ।

अन्सारीको अपहरणपछि हत्या अभियोगमा यसअघि नै ५ जना पक्राउ परिसकेका छन् । सुष्मा पक्राउ परेपनि अर्का अभियुक्त निजामुद्धिन शेष फरार रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी भिमकिरण बोगटीले जानकारी दिनुभयो । अपहरणकारीले मुन्नुको अपहरणपछि उनको परिवारसँग फिरौतीबापत ९ लाख रुपैयाँ लिएर पनि उनको हत्या गरेको प्रहरीले जनाएको छ । मुन्नुको अपहरणमा उनका आफ्नै मामा भारतीय नागरिकको प्रत्यक्ष संलग्नता देखिएको प्रहरीले घटनापछि सार्वजनिक गरेको थियो ।

फैसला कार्यान्वयनको टोली र प्रहरी चौकी बेलभारको संयुक्त टोलीले सुष्मालाई पक्राउ गरेकोे जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी बोगटीले जानकारी दिनुभयो । अपहरणकाण्डमा जिल्ला अदालत बाँकेले उनीहरुलाई नौ वर्ष कैद सजाय र जनही नौ लाख रुपैयाँ जरिवाना गरेको थियो । अपहरणपछि २० लाख रुपैयाँ फिरौती माग गरेका अपराधीलाई पीडित परिवारले नौ लाख रुपैयाँ बुझाएको थियो । आफ्नै मामा सिराजुल रहमान अन्सारीमार्फत दिइएको नौ लाख पाएपछि अपराधीहरूले पीडित परिवारसँग सम्पर्क विच्छेद गरेका थिए ।

जिल्ला अदालतले ईन्द्रपुरका रिजवान साई, इन्द्रपुरकी सुष्मा वर्मा, निजामुद्दिन मुल्ला साई, भवानीयापुरका प्रमोद गिरी, कम्दीका झल्लु धोबी र बकरिदि शेषलाई अपहरण काण्डमा दोषी मानेको छ । पीडितका मामा सिराजुल, रकम बुझ्ने इरशाद खान र मोइन कुरैशी भारतीय नागरिक हुन् । सुष्मा सुरुमा जिल्ला अदालतबाट  ५ हजार रुपैयाँ धरौटीमा रिहा भएकी थिइन् । सुष्माले प्रलोभनमा पारी आमिरलाई त्रिभुवन चोकबाट सीमा कटाएको प्रहरीले सार्वजनिक गरेको थियो