काठमाडौँ, २५ साउन । स्थानीय तह पुनःसंरचना आयोगले तयार गरेको मापदण्ड अनुसार स्थानीय तहको पुनःसंरचना भए जनताको पहुँच नहुने धारणा सांसदहरूले व्यक्त गर्नुभएको छ ।
सोमबार व्यवस्थापिका संसद्मा विशेष समय लिएर बोल्ने सांसदहरूले स्थानीय तह पुनःसंरचनाको मापदण्ड अव्यावहारिक भएको चर्चा गर्दै प्रस्तावित ५६५ एकाइलाई बढाउनपर्ने सुझाव दिनुभयो । केही सांसदले आयोगको कामको समीक्षा गर्न र तत्काल स्थगन गर्न पनि माग गर्नुभयो ।
संसद्मा नेपाली काँग्रेसका सांसद भरतबहादुर खड्काले प्रस्तावित ५६५ एकाइ अव्यावहारिक भएको दाबी गर्दै आयोगको काम तत्काल रोक्न माग गर्नुभयो ।
नेकपा एमालेका यज्ञराज सुनुवारले लामो समयदेखि स्थानीय निर्वाचन हुन नसकेको अवस्थामा निर्वाचनका लागि सबै दलले समस्याको गाँठो फुकाउनुपर्ने बताउनुभयो । सुनुवारले स्थानीय तहको पुनःसंरचनामा अहिलेसम्म जनसङ्ख्यालाई मात्र बढी आधार दिइएकाले समस्या आउनसक्ने बताउनुभयो । तमलोपाका सांसद बृजेशकुमार गुप्ताले आयोगले स्पष्ट मापदण्डमा भन्दा स्वेच्छाले स्थानीय तहको एकाइ तोकेको आरोप लगाउनुभयो । गुप्ताले अहिलेसम्म आयोगले गरेका कामको समीक्षा गरेरमात्र अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
