घोराही, २४ साउन । नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र स्वर्गद्वारी आश्रम शाखा दाङको दोस्रो अधिवेशन भोली –मंगलबार) घोराहीमा हुने भएको छ । दाङ शाखाको अधिवेशन उद्घाटनका लागि नेपाल अपाङ्ग संघका केन्द्रीय अध्यक्ष मोहन महर्जन लगायतका नेताहरु जिल्लामा आइसक्नुभएको छ ।
index12
नेपाल अपाङ्ग संघ दाङका सचिव चिन्तामणि पौडेलका अनुसार विहान ११ बजे देखि हुने अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । अधिवेशनको उद्घाटन सत्रलाई सम्वोधन गर्न निर्वतमान केन्द्रीय अध्यक्ष गजेन्द्र लामा, पूर्व महासचिव यज्ञ उप्रेती, निर्देशक भूपति सिग्देल पनि आइसक्नु भएको छ ।

लामो समय देखि अपाङ्गता भएका व्यक्तिहरुको पुनःस्थापनाका लागि सिपमूलक तालिमहरु तथा अपाङ्गता न्यूनिकरणका लागि विभिन्न गतिविधि संचालन गर्दै आइरहेको अपाङ्ग संघ स्वर्गद्वारी आश्रम शाखाको दोस्रो अधिवेशनले आगामी तीन बर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ ।

सोही क्रममा शाखाको बैठक सोमबार बसेको थियो । शाखा सभापति भोलानाथ योगीको अध्यक्षतामा बसेको बैठकले तयारीका बारेमा छलफल गरेको थियो । त्यसका साथै सचिव चिन्तामणि पौडेल र कोषाध्यक्ष रुपा वलीको प्रतिवेदन पारित गरेको थियो । बैठकले अधिवेशनको उद्घाटन सत्रमा सहभागिताका लागि सम्पूर्ण साधारण सदस्यहरु, आजिवन सदस्यहरु, सुभेच्छुक सवैलाई आग्रह गरेको छ ।

यसैबीच शाखाको बैठकले शाखा स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका स्वर्गिय समाजसेवी खगराज लोहनीलाई सम्मान गर्ने निर्णय गरेको छ । शाखा स्थापनापछि लामो समयसम्म कोषाध्यक्षको जिम्मेवारी सम्हाल्नुभएका लोहनीको गत बर्ष निधन भएको थियो । शाखाको स्थापना र विकासका लागि लोहनीको अतुलनिय योगदान रहेको छ त्यसैले हामीले सम्मान गर्ने योजना बनाएका छौं शाखा सभापति योगीले भन्नुभयो ।