इन्द्रेणी संवाददाता
बैशाख ७ दाङ ।
उत्सर्ग फिल्मस् नेपालले गंगापरस्पुर वडा ६ खजरौटा र वडा ८ बाँकीका अग्निपीडितहरुलाई ३० हजार बराबारको कर्कटपाता प्रदान गरेको छ । आज बाँकीमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथी रेडियो हाइवेका प्रबन्ध निर्देशक एवं प्रेस युनियनका केन्द्रीय सदस्य केपी घिमिरे, उत्सर्गका प्रबन्ध निर्देशक के.एल. पीडित, सल्लाहकार बसन्तराज भट्ट र साहित्यकार हिमोद पहाडीले संयुक्तरुपमा राहत संकलन समितिलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको थियो ।
साहित्यकार हिमोढ पहाडीले सहजीकरण गर्नुभएको सो कार्यक्रममा प्रमुख अतिथि घिमिरेले विपत्तीमा परेका अग्निपीडितहरुलाई सहयोग गर्नु मानवीय धर्म रहेको बताउँदै सबैलाई सहयोग गर्न अपील गर्नुभयो । उत्सर्गका प्रबन्ध निर्देशक एवं नेपाल पत्रकार महासंघ, दाङका निवर्तमान अध्यक्ष पीडितले विपत्तीमा सबैजुट भई उद्धार र सहयोगमा लाग्नुपर्ने बताउनु भयो । राहत संकलन समितिका अध्यक्ष बिष्णुप्रसाद भण्डारीले संकटको समयमा सहयोग गरेकोमा उत्सर्ग परिवारलाई धन्यवाद दिनुभएको थियो ।
अग्निीपीडितहरुलाई राहत सामग्री खरिदका लागि हाल अमेरिकामा रहनु भएका समाजसेवी होताराम अधिकारीले रु. १५ हजार, उत्सर्गका प्रबन्ध निर्देशक केएल पीडितले रु. ८ हजार, सल्लाहकार बसन्तराज भट्टले रु. ५ हजार र समाजसेवी कुलबहादुर डाँगीले रु. २ हजार सहयोग गर्नु भएको थियो । अग्निपीडितहरुलाई राहत सामग्री प्रदान गर्न उत्सर्ग फिल्मस् नेपालका संरक्षकद्वय मानबहादुर थापा (युके) र होताराम अधिकारी (अमेरिका) प्रेरक र समन्वयको भूमिका निर्वाह गर्नुभएको थियो ।