तुलसीपुर , २३ साउन । ईलाका प्रहरी कार्यालय तुलसीपुरले बजार क्षेत्रमा चोरीगर्दै आएका १३ जना बालवालिकालाई नियन्त्रण पछि उनीहरुको अभिभावकको जिम्मा लगाएको छ ।
बजार क्षेत्रमा हुँदै आएको चोरी नियन्त्रणका लागि १० देखि १४ वर्ष उमेर समुहका उनीहरुलाई पक्राउ गरि अभिभावकको जिम्मा लगाइएको ईप्रका तुलसीपुरका प्रमुख एवं डिएसपी कृष्ण प्रसाँईले जानकारी दिए ।
डिएसपी प्रसाँईका अनुसार प्रहरीले नियन्त्रणमा लिएका १३ जना मध्ये १२ जनालाई अभिभावकको जिम्मा लगाइएको छ भने एकजना बालक सल्यान जिल्ला निवासी भएकाले उनलाई आज एकजना प्रहरी सहित पठाएर अभिभावकको जिम्मा लगाउनको लागि सल्यान तर्फ पठाउन लागेको ईप्रका प्रमुख प्रसाँईले जानकारी दिए ।
उनका अनुसार बजारका ठाउँ ठाउँमा चोरीको घटना बढ्नु र त्यसमा बालवालिकाकै सम्लग्नता पाइएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो । तीन दिन अघि पक्राउ परेका उनीहरुलाई तुलसीपुर नगरपालिकाका समाज कल्यान अधिकृत टोपबहादुर डाँगी र वालअधिकारकर्मी नवराज लामिछाने संगको परामर्ष एवं सरसल्लाह पछि बालबच्चालाई सम्झाई बुझाई गरि अभिभावकको जिम्मा लगाइएको हो ।
प्रहरीले नियन्त्रणमा लिएका १३ बालवालिकाको दुई दिनको खाना र खाजा खर्च सबै बालअधिकारकर्मी लामिछानेले बेहोरेको समेत डिएसपी प्रसाँईले जानकारी दिए । सल्यान घर भएका एकजना बच्चा , एकजना प्रहरीको आतेजाते सबै खर्च समेत लामिछानेले नै बेहोर्ने निर्णय भएको डिएसपी प्रसाँईले बताए ।२०७२ सालमा पनि प्रहरीले तुलसीपुर क्षेत्रवाट मोवाईल पसल चोरी र लुटपाट गरेको अभियोगमा दर्जनौं बालवालिका प्रक्राउ गरेको थियो ।
उनीहरुको उमेरका कारण पोखरा सुधार गृहमा पठाइएको भएपनि पछि फेरि उनीहरु आएर बजारमा पुरानै गतिविधि दोहर्याउने गरेको पाइएको छ ।
तुलसीपुरको वसपार्कमा रहेको सडक वालवालिकाहरु पढाउँदै आएको जिएनधओसिसीवाट हालसालै ५ जना बालवालिका भागेको र उनीहरु समेत यस्तै चोरीमा सम्लग्न रहेको पाइएको प्रहरीले बताएको छ ।
खासमा कमजोर आयस्रोत भएका , अभिभावक विचको सम्वन्ध राम्रो नभएका , अभिभावकहरु मजदुरमा व्यस्त बनेका तथा अभिभावकको लापरवाहीले गर्दा बालवालिका कुलतमा फसेको जानकारहरु बताउँछन् ।
