prachand

काठमाडौँ, २३ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान कार्यान्वयनको वातावरण सिर्जना गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।  सञ्चारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयन गर्न वातावरण सिर्जना गर्नु आवश्यकता र चुनौती दुवै भएको बताउनुभयो ।

त्यसका लागि संविधानप्रति असन्तुष्टि व्यक्त गर्ने आदिवासी जनजाति र मधेसी समुदायलाई सहमतिमा ल्याएर सरकार अगाडि बढ्नेछ । संविधान कार्यान्वयनका लागि प्रतिपक्षी दलसँग समेत सहकार्य गरेर अगाडि बढ्ने प्रधानमन्त्री दाहालको भनाइ छ । त्यसैगरी प्रधानमन्त्री दाहालले आफ्नो सरकारले पुनःनिर्माण, विकास र समृद्धि, भ्रष्टाचार, महँगी, कालोबजारी तथा देशमा व्याप्त दण्डहीनता अन्त्य गर्ने सङ्कल्प गर्नुभयो ।

प्रधानमन्त्री दाहालले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका सबै निर्णय र नीति तथा कार्यक्रम कार्यान्वयन गर्नेभन्दा पनि राष्ट्र र जनताको पक्षमा भएका निर्णय आफ्नो सरकारले कार्यान्वयन गर्ने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले सरकारको आयु नौ महिनामात्र हुने भन्नेबारेमा कुनै त्यस्तो लिखित सहमति भएको छैन तर यतिभित्रमा काम सक्ने वा सरकारको प्राथमिकता के के हुने भन्नेबारे केही आधार तयार भएको छ भन्नुभयो ।  पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा सुरु भएको कार्यक्रम ‘सीधा कुरा प्रधानमन्त्रीसँग’लाई आजदेखि पुनः निरन्तरता दिइएको हो ।