काठमाण्डौ, २२ साउन
सत्ता साझेदार प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आन्दोलनरत तराई–मधेसवादी दलबीच भएका तीन बुँदे सहमति कार्यान्वयनका विषयमा कुराकानी गरेका छन । दुइ दलहका शिर्ष नेताहरुले आज वैठक बसेर त्यसविषयमा छलफल गरेका हुन । कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालबीच आज त्यस विषयमा कुराकानी भएको थियो ।
प्रधानमन्त्री दाहाल आज बिहान सभापति देउवालाई भेट्न देउवा निवास बूढानीलकण्ठ पुग्नुभएको थियो । सभापति देउवाका निजी सचिव भानु देउवाले भन्नुभयो – ‘पछिल्लो राजनीतिक अवस्था, मन्त्रिमण्डल विस्तार, संविधान कार्यान्वयन र आन्दोलनरत मधेसवादी दलका बीच भएका तीनबुँदे सहमति कार्यान्वयन विषयमा उहाँहरुले बातचित गर्नुभयो । ’
निजी सचिव देउवाका अनुसार कांग्रेस र माओवादी केन्द्र तथा आन्दोलनरत मधेसवादी दलका बीच भएका तीन बुँदे सहमति कार्यान्वयन गर्न मन्त्रिपरिषद्को शुक्रबार बैठकले विभिन्न निर्णय गरिसकेको छ ।।
