काठमाण्डौ, २२ साउन
नेपालको शैक्षिक गुणस्तर विगतका वर्षमा भन्दा खस्किँदै गएको एक अध्ययन प्रतिवेदनले देखाएको छ । शिक्षा मन्त्रालयअन्तर्गत शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमीले गरेको अध्ययन प्रतिवेदनमा शैक्षिक गुणस्तर विगतका वर्षमा भन्दा खस्किँदै गएको उल्लेख गरिएको छ ।
परीक्षणका क्रममा कक्षा ३ मा चार वर्षअघि नेपालीको सिकाइ उपलब्धि औसत ६३ भएकामा गत वर्षको परीक्षणमा ५२ मा झरेको पाइएको केन्द्रका उपसचिव गोपाल भट्टराईले जानकारी दिनुभयो ।
त्यसैगरी गणितमा चार वर्षअघि औसत सिकाइ उपलब्धि ६० रहेकामा गत वर्ष ४५ मा झरेको छ भने कक्षा ५ को सिकाइ उपलब्धि पनि खस्किँदै गएको छ ।
केन्द्रका अनुसार कक्षा ५ को नेपालीमा चार वर्षअघि औसत सिकाइ उपलब्धि ६० रहेकामा गत वर्ष ४६ मा झरेको छ ।
गणितमा ५३ बाट खस्किएर ४८ मा पुगेको छ भने अङ्ग्रेजीमा सिकाइ उपलब्धि ५४ भएकामा गत वर्षको अध्ययनमा ४७ मा झरेको प्रतिवेदनमा उल्लेख छ ।
केन्द्रले २३ जिल्लाका एक हजार ५ सय ४२ विद्यालयमा अध्ययनरत ३३ हजार ८६३ विद्यार्थीको सिकाइ उपलब्धि परीक्षण गरेको थियो भने कक्षा ५ को २३ जिल्लाका एक हजार ५४३ विद्यालयका ४० हजार १५ जना विद्यार्थीको सिकाइ परीक्षण गरेको थियो ।।