काठमडौ २२ साउन ।  नेपाल विद्यार्थी सङ्घको आइतबारबाट राजधानीमा सुरु हुने ११ औँ महाधिवेशनको तयारी पूरा भएको छ । महाधिवेशन प्रतिनिधि भित्रिने क्रमसँगै शुक्रबारबाट उनीहरूको बसोबासका लागि होटल बुकिङ तथा खानाको व्यवस्था गर्ने काम भइरहेको र बस्ने व्यवस्था प्रदेश अनुसार मिलाइएको सङ्घले जानकारी दिएको छ ।

12062016072908nsu-nepal-1000x0

नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेवि सङ्घको महाधिवेशन २०६४ सालपछि पटकपटक स्थगित भई बल्ल हुन लागेको हो । करिब १० वर्षपछि हुन लागेको महाधिवेशनलाई शान्त, सभ्य र भव्य बनाउन विभिन्न समिति समेत गठन गरिएको छ । महाधिवेशनमा मुलुकभरबाट तीन हजार ४५० जना प्रतिनिधि सहभागी हुने आयोजकले जानकारी दिएका छन् ।

नेविसङ्घका केन्द्रीय सदस्य एवम् विवाद निरूपण समितिका संयोजक लीलावल्लभ दाहालले महाधिवेशन प्रतिनिधि छनोटका विषयमा ११ जिल्लामा देखिएको विवाद मिलेको जानकारी दिनुभयो । ६४ जिल्लामध्ये ११ मा विवाद थियो त्यो मिलाइसकेका छौँ, उहाँले भन्नुभयो, अब महाधिवेशन निर्विवाद सञ्चालन हुनेछ ।

तर, ११ जिल्लामा महाधिवेशन छनोटमा धाँधली भएको भन्दै विद्यार्थी नेता कुन्दन काफ्ले र महेन्द्र शर्माको छुट्टा छुट्टै समूह सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा अनशनरत छन् । यस समूहसँग पनि पार्टी नेतृत्व तहबाट नै छलफल भइरहेकाले सहमतिमा आउने धारणा उहाँले राख्नुभयो ।

भृकुटीमण्डपस्थित कभर्डहलमा तीन दिनसम्म जारी रहने महाधिवेशनको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ । दाहालले जिल्ला प्रतिनिधिको आगमनसँगै चुनावी चहलपहल पनि बढेको जानकारी दिनुभयो ।