काठमाडौँ, २१ साउन । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले मुलुकमा भइपरी आउने बाधाव्यवधान, समस्या र चुनौती समाधान गर्न गृह प्रशासनलाई ‘प्रोएक्टिभ’ भएर कार्य सम्पादन गर्न निर्देशन दिनुभएको छ ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा हिजो साँझ पद बहाली गर्दै उहाँले आफू ‘टिमवर्क’मा बसेर काम गर्न इच्छुक रहेको बताउनुभयो । उपप्रधानमन्त्री निधिले अन्य मन्त्रालयभन्दा गृह मन्त्रालयको कामकारबाही पृथक हुने भएकाले कानुनी शासनको पालना, अपराध नियन्त्रणलगायत जनताको दैनिक जनजीविकामा असर पार्ने किसिमका गतिविधि नियन्त्रण गर्ने सवालमा सचेत र चनाखो हुन निर्देशन दिनुभयो ।
विगतमा सामान्य प्रशासन, शिक्षा र भौतिक योजना तथा पुनःनिर्माण मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिसकेका उपप्रधान तथा गृहमन्त्री निधिले भइपरी आउने शान्तिसुरक्षासम्बन्धी कुनै पनि चुनौतीका विषयमा सुझाव, सल्लाह र छलफल गर्न आफू सधँै खुला रहने बताउनुभयो ।।