इन्द्रेणी संवाददाता 

सल्यान २० साउन ।  समयममै भौतिक पुर्बाधारका काम सम्पन्न नगरेका सल्यानका २ सय २७ बिद्यालयको खाता रोक्का गरिएको छ । गएको आर्थिक वर्ष २०७२/ ७३ मा सम्झौता गरिएको विद्यालयहरुले असार मसान्तसम्म पनि काम सम्पन्न गरेको प्रतिवेदन नबुझाएकाले खाता रोेक्का गरिएको जिल्ला शिक्षा कार्यालय सल्यानले जानकारी दिएको छ । जिल्ला शिक्षा कार्यालय सल्यानले ती बिद्यालयको १२ करोड ४२ लाख ९० हजार रुपैयाँ रोक्का गरेको शिक्षा कार्यालय सल्यानका लेखा अधिकृत तोरणप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

deo-salyan-logoजिल्ला शिक्षा कर्याालय सल्यानमा दुई आर्थिक वर्षसम्म पनि भौतिक पूर्वाधारको योजना सम्पन्न भएको प्रतिवेदन बुझाउन नसकेको भन्दै प्रभाकर उच्चमावि देवस्थलका शिक्षकको तलब समेत रोक्का गरिएको छ । योजना सम्पन्न भएको प्रतिवेदन कार्यालयमा बुझाएमा बैंकमा रोक्का खाता खोलिने लेखा अधिकृत घिमिरीले जानकारी दिनुभयो ।

कार्यालयले समयमै योजना सम्पन्न गर्न नसकेका विद्यालयको खातामा पैसा राखिदिए पनि बैंकबाट निकाल्न नमिल्ने गरी खाता रोक्का गर्ने गरेको छ । सल्यानमा गएको आर्थिक वर्षमा २५ करोड ८० लाख रुपैयाँ बराबरको भौतिक पूर्वाधार निर्माणमा बजेट आएको थियो ।।