काठमाडौँ । संयुक्त राष्ट्र संघको ८१ औं महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनले निम्त्याउने समस्यासँग जुध्न नेपालसहित त्रिदेशीय संयन्त्रको प्रस्ताव गरेका छन् । महासभालाई शुक्रबार बिहान सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपाल, भारत र चीनको नेतृत्वमा हिमालय जलवायु उत्थानशीलता संयन्त्र स्थापना गर्ने प्रस्ताव गरेका हुन् ।

“हिन्दुकुश हिमालय क्षेत्रमा करिब दुई अर्ब मानिस बसोबास गर्छन् । यी हिमालले नेपालभन्दा धेरै टाढासम्मका मानिसलाई पानी, पारिस्थितिक प्रणाली, कृषि र जीविकोपार्जन उपलब्ध गराउँछन् । हिमालय पृथ्वीको बाहिरी भागमा रहेको क्षेत्र होइन। यो पृथ्वीको जीवन धान्ने प्रणालीको एउटा हिस्सा हो”, प्रधानमन्त्री शाहले भने ।

“तत्काल चाल्नुपर्ने पहिलो कदमका रूपमा हामी नेपाल, भारत र चीनको नेतृत्वमा हिमालय जलवायु उत्थानशीलता संयन्त्र स्थापना गर्ने प्रस्ताव गर्दछौँ”, उनले थपे भने ।

प्रधानमन्त्री शाहले भदौ १० गते नेपालको भोटेकोशी-त्रिशूलीको विपत्ति विश्वका लागि चेतावनी समेत भएको बताएका थिए । अल्पविकसित देश भएर पनि नेपालले आफ्नो पारिस्थितिक योगदानको अनुपातभन्दा धेरै ठूलो विश्वव्यापी भूमिका निर्वाह गरिरहेको प्रधानमन्त्री शाहले बताएका छन् ।