दाङ । रातको समयमा खुकुरी देखाएर युवतीमाथि दुव्र्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । यो भिडियो सार्वजनिक भएपछि प्रहरीले ती युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–२ भंके निवासी २४ वर्षीय रमेश ठाडा रहेका छन् । यी युवकले एक युवतीलाई जंगलमा लगी खुकुरी देखाई डराई धम्काई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

भिडियो सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले उनलाई उनकै घरबाट पक्राउ गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । साथै उनीबाट लागुऔषध Pregamax १ ट्याब्लेट, Trohmo ४१ ट्याब्लेट, Antikop २ ट्याब्लेट र Nitrazohm ५ ट्याब्लेट पनि  बरामद गरेको छ । घटनामा संलग्न रहेको आरोपमा २१ वर्षीय जिबराज खत्रीलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।