काठमाडौँ, साउन २० गते ।  नब निर्बाचित प्रधानमन्त्री प्रचण्ड सहित आज पहिलो चरणमा सात जनाको मन्त्रिपरिषद् गठन हुने बताईएको छ । स्रोतका अनुसार प्रधानमन्त्रीसँगै काँग्रेस र माओवादीको तर्फबाट तीन/तीन जना मन्त्री समेटेर मन्त्रिपरिषद् बन्नेछ ।

सरकारमा माओवादीको तर्फबाट कृष्णबहादुर महरा, राम कार्की र जनार्दन शर्मा सहभागी हुने बताइएको छ । ‘महरा र कार्कीको निश्चित भइसकेको छ तर शर्मा आफँैले जाने या नजाने निर्णय नगर्नु भएकोले उहाँको ठाउँमा अर्को पनि हुनसक्ने माओवादी केन्द्रका एक नेताले बताए ।

Prachandस्रोतका अनुसार प्रभावशाली मन्त्रालयमध्ये काँग्रेसले गृह, परराष्ट्र, भौतिक योजनालगायतका १३ वटा र माओवादीले अर्थ, स्थानीय विकास, शिक्षालगायत ८ वटा मन्त्रालय पाउने करिब टुङ्गो लागेको छ । यसको अन्तिम निर्णय भने हुन बाँकी रहेको बताइएको छ ।

प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेपछि काँग्रेस र माओवादीले बनाएको संयन्त्रका एक सदस्यले अर्थ र गृहबाहेकका अन्य कुन मन्त्रालयहरू कसले लिने भन्नेबारे बुधबार अबेरसम्म पनि टुङ्गो लाग्न नसकेको बताउनुभयो । अर्थ मन्त्रालय माओवादीले र गृह काँग्रेसले लिने निश्चित भइसकेको जानकारी दिँदै उहाँले बाँकी मन्त्रालयहरू टुङ्गो लाग्न बाँकी रहेको बताउनुभयो ।

माओवादीबाट अघिल्लो पटक शिक्षामन्त्री बन्नुभएका गिरिराजमणि पोखरेल दोहोरिने सम्भावना छ । उहाँको विकल्पमा धनीराम पौडेललाई हेरिएको छ । यसबाहेक दलजित श्रीपाली, प्रभु शाह र सरिता नेपालीको पनि सम्भावना रहेको एक नेताले जानकारी दिनुभयो ।।