कैलाली । कैलालीमा वनको जग्गा अतिक्रमण गरी सडक किनारमा व्यापार गरेको भन्दै टेम्पो भीरबाट खसालेको घटना अनुसन्धानको लागि प्रहरीले वन कार्यालयका १२ जना कर्मचारीलाई पक्राउ गरेको छ । टेम्पो धकेलेर सडकबाट खसाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाबारेमा अनुसन्धान गर्न उनीहरुलाई पक्राउ गरेको हो ।

भीमदत्त राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–४ को बासपानीमा सडक छेउमा राखेर खुद्रा सामान बिक्री गर्न प्रयोग गरिएको टेम्पो वन कर्मचारीले फालिदिएका थिए।

वनका कर्मचारीले शुक्रबार दिउँसो कैलालीको गोदावरीमा स्थानीय ४४ वर्षीया धनादेवी धामीको टेम्पो भीरबाट खसालिदिएका थिए । यो घटनाको चौतर्फी विरोध भएपछि डिभिजन वन कार्यालयका कर्मचारीले संयुक्त रुपमा हस्ताक्षर गरी आफ्नो बचाउ गर्ने प्रयास गरेका थिए ।

अतिक्रमण हटाउन बल प्रयोग गर्ने क्रममा भिरालो भौगोलिक सतह र असन्तुलनका कारण टेम्पो खसेको डिभिजन वन कार्यालय पत्रकार सम्मेलन गरेर दावी गरेको थियो । तर भिडिओमा भने टेम्पोलाई कर्मचारीहरुले धकेल्दै भिरबाट खसालेको प्रष्ट देखिन्छ ।