काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जथाभावी संसदीय छानबिनको माग नराख्न विपक्षी दलहरूलाई आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा अर्थमन्त्री वागलेले यस्तो आग्रह गरेका हुन् ।

प्रतिपक्ष दलहरुले आर्थिक विधेयकमा भएको करका दर हेरफेरबारे संसदीय छानबिन समिति गठन हुनुपर्ने माग राखिरहेका छन् । ‘जथाभावी संसदीय छानबिन ! के संसद् त्यति सस्तो भयो ? संसदीय छानबिन भन्नलाई…… बैठकमा अर्थमन्त्री वागलेले भने ।

करको दर हेरफेर गरेको र करको दर हेरफेरको सूचना चुहावट गरेको आरोपमा विपक्षी दलहरूले अर्थमन्त्रीमाथि प्रश्न गरिरहेका छन् । जवाफमा अर्थमन्त्री वाग्लेले छानबिन नै गर्नुपर्ने तहमा केही नभएको प्रष्टीकरण दिएका छन् ।

अर्थमन्त्री वाग्लेले यही जेठ १५ गते ४६४ पृष्ठ संख्याको आर्थिक विधेयक ल्याएका थिए । तर अर्थ मन्त्रालयले फेरबदल गरेर आफ्नो वेबसाइटमा ४४८ पृष्ठ संख्याको आर्थिक विधेयक राखेको छ । संसदमा पेस गरिएको आर्थिक विधेयकमा १६ पेज हटाएर विधेयक सार्वजनिक गरेको छ ।