हुम्ला । नागरिकलाई बैंक खाता खोल्दा होस् वा ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य भएको छ । तर त्यही राष्ट्रिय परिचयपत्र लिनका लागि २० हजार खर्च गर्नुपर्ने यहाँका नागरिकको वाध्यता छ ।
हुम्लाको दक्षिण क्षेत्रका नागरिकले राष्ट्रिय परिचयपत्र पाउनका लागि करिव २० हजार खर्च गर्नुपर्ने बाध्यतामा छन् ।

जिल्लाका दक्षिण क्षेत्रका नागरिकले सदरमुकाम सिमकोटमा पुगेर राष्ट्रिय परिचयपत्र लिनुपर्दा कम्तीमा पनि २० हजार खर्च हुन्छ । “राष्ट्रिय परिचयपत्र बनाएपछि बैँकको काम सजिलो हुन्छ भनियो । त्यसैले गाउँमै आएर फोटो खिचे, औँठाछाप लगाएँ । हामीले कार्ड गाउँमै आउँछ होला भन्ने सोचेका थियौँ”, सर्केगाड गाउँपालिका–७, रोडीकोटका ज्येष्ठ नागरिक रतन्या जैसीले भने, “पछि सिमकोट गएर आफैँ लिनु पर्छ भनियो । हामी जस्ता वृद्धलाई त्यो यात्रा कसरी सम्भव हुन्छ ?” सामाजिक सुरक्षा भत्ता बुझ्न होस् वा अन्य बैँकिङ कारोबार गर्न बैँक जानुपर्छ ।”

राष्ट्रिय परिचयपत्र अहिले अत्यावश्यक कागजात मात्र नभई पीडा र आर्थिक बोझको विषय बनेको स्थानीयले गुनासो गरेका छन् । दक्षिणी क्षेत्रका अदानचुली, ताजाकोट, सर्केगाड र चङ्खेली गाउँपालिकाका नागरिकले बैँक खाता सञ्चालन, सामाजिक सुरक्षा भत्ता, सरकारी सेवा तथा विभिन्न कामका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य भएपछि परिचयपत्र बनाएका भए पनि हातमा कार्ड नहुँदा र सास्ती खेप्नु परेको गुनासो गरेका छन् ।

गत वर्षको साउन भदौमा सरकारले निःशुल्क रूपमा विवरण सङ्कलन गरेपछि नागरिक खुसी भएका थिए तर कार्ड लिन सदरमुकाम सिमकोट नै पुग्नुपर्ने बाध्यता भएपछि दुर्गम गाउँका नागरिक थप समस्यामा पर्दै आएका छन् । दुर्गम गाउँबाट सिमकोट पुग्न कतिपयलाई सवारी साधनमा यात्रा गर्नु पर्छ । कतिपय नागरिक दिनहुँ पैदलयात्रा गर्न बाध्य छन् । गाडीभाडा, खाना बस्न होटेल तथा अन्य खर्च जोड्दा आउँदाजाँदा एक जनाले कम्तीमा २० हजारसम्म खर्च गर्नु परेको स्थानीय बताउछन् ।

अदानचुली–२ का युवा लालकेश भण्डारीले भने, “कार्ड नहुँदा काम रोकिन्छ । अब एउटा कागजकै लागि यति दुःख पाइन्छ भने गाउँका गरिब जनताले कसरी राज्यको सेवा पाउने हो ।”