अर्घाखाँची । सुपा देउराली दर्शन गरी पर्वत फर्किँदै गरेको बस अर्घाखाँचीमा दुर्घटना हुदा चार जनाको ज्यान गएको छ । दुर्घटनामा परी २७ जना घाइत भएका छन् ।
सन्धिखर्क घुम्ती तानसेन पाल्पा सडकखण्ड अन्तर्गत पाणिनी ८ को कुरुलेफाँट नजिकै ध १ ख ५०४ नम्बरको बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा कास्की पोखरा महानगरपालिका १९ की ७८ वर्षीया राममाया बस्नेत, सोही ठाउँकी ७८ वर्षीया बिन्दु कुँवर, पर्वतको मोदी गाउँपालिका ५ की ५० वर्षीया कौशिला रेग्मी र सोही ठाउँका बस चालक ४५ वर्षीय रमेश जिसी रहेका छन् । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइतेहरूको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा र भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रारम्भिक जानकारी अनुसार बसको ब्रेक फेल भएर सडकबाट करिब १०० मिटर तल खसेको छ ।













