सुर्खेत । कर्णालीका हिमाली जिल्ला हुम्ला र डोल्पामा निर्वाचन सामग्री नेपाली सेनाको हेलिकोप्टरबाट ढुवानी गरिएको छ । तीन दिन लगाएर सेनाको हेलिकोप्टरले डोल्पाका २० र हुम्लाका चार मतदान स्थलमा निर्वाचन सामग्री ढुवानी गरेको हो ।
हेलिकोप्टरबाट निर्वाचन सामग्रीसहित निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मी पुगेका छन् । यी स्थान जिल्ला सदरमुकामबाट निकै टाढा पर्छन् । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका छ वटा, से फोक्सुण्डो गाउँपालिकाका आठ वटा र छार्का तोङसोङ गाउँपालिकाका छ वटा गरी २० वटा मतदान स्थलमा हेलिकोप्टरबाट गत शनिबारबारदेखि मङ्गलबारसम्म निर्वाचन सामग्री ढुवानी गरिएको हो ।
त्यस्तै हुम्लाको हिमालपारिको लिमीका चार वटा केन्द्रमा सोमबार सेनाको हेलिकोप्टरबाट ढुवानी गरिएको छ । दुर्गम, हिमपात र सुरक्षा संवेदनशीलताका कारण यी स्थानमा हेलिकोप्टरबाट निर्वाचन सामग्री ढुवानी गरिएको सेनाले जनाएको छ ।
यसैगरी हिमाली जिल्लाको उत्तरी भेगमा पर्ने मुगुमकार्मारोङ गाउँपालिकाको मुगुगाउँको मतदान केन्द्रमा १२ घण्टा हिँडेर कर्मचारी मतदान केन्द्रमा पुगेका छन् । जिल्लाको माथिल्लो मुगुगाउँको २ मा पर्ने जनजागृति मतदान केन्द्र सडक सञ्जालमा नजोडिएको हुँदा उक्त केन्द्रमा कर्मचारीले मतपत्रलगायतका निर्वाचन सामग्री बोकेर मतदान स्थलसम्म पुग्न १२ घण्टा लगाएका हुन् ।











