काठमाडौँ। फागुन २१ गते लागेको प्रतिनिधि सभा सदस्य निर्वाचन लागि निर्वाचन प्रचारप्रसार गर्ने आज अन्तिम दिन । आज सोमबार उम्मेदवार र दलहरुले प्रचारप्रसार गर्न पाउने छन् । आजै सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । यस अवधिमा निर्वाचन प्रचारप्रसार तथा यससँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार मौन अवधि मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने हुन्छ । आयोगले यस अवधिमा पालना गर्नुपर्ने विशेष आचरण तोकेको छ । जस अनुसार निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइँदैन ।

त्यस्तै मतदान हुने दिनको ४८ घण्टाअघि मतदान स्थलको तीन सय मिटरवरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने छ भने कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न हुँदैन । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी वा नगरी सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा सेयर गर्न वा गराउन वा प्रतिक्रिया दिन पनि पाइने छैन ।

आयोगले मौन अवधिमा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरण पनि तोकेको छ । मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा विज्ञापनका अतिरिक्त टक सो, टिप्पणी, विश्लेषण, प्रश्नोत्तर जस्ता कार्यक्रम गर्न नहुने आयोगले जनाएको छ ।