दाङ । नेकपा एमाले दंगीशरण गाउँकमिटिले स्वर्गीय उत्तरकुमार वलीको आज सातौँ स्मृति दिवस मनाएको छ । एमालेका नेता तथा लुम्बिनी प्रदेश सभाका पूर्वसांसद वलीको स्मृति दिवसको अवसरमा उनकै निवास दंगीशरण ६ लेटारमा स्मृति सभाको कार्यक्रम गरेको हो ।

गाउँपालिका कमिटिका अध्यक्ष वसन्त वलीको अध्यक्षता तथा केन्द्रिय सदस्य एवं समानुपातिक उमेदवार कोमल वलीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा प्रमुख अतिथि वलीले उत्तरकुमार वलीको चर्चा गर्दै पश्चिम दाङमा कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन वलीले महत्वपूर्ण योगदान गरेको बताएकी थिइन् ।

कार्यक्रममा एमालेका केन्द्रिय सदस्य तथा दाङ क्षेत्र नं. ३ का प्रत्यक्षतर्फका उमेदवार घनश्याम पाण्डे, लुम्बिनी प्रदेश कमिटिका सदस्य सिमा न्यौपाने लगायतले स्व. वलीले योगदानबारे चर्चा गरेका थिए । पूर्वसंसद वलीको २०७५ फागुन १० गते सवारी दुर्घटनामा निधन भएको थियो ।

किसानको अधिकार, हाम्रो प्रतिबद्धता : पाण्डे
यसैबीच दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा प्रत्यक्ष तर्फ एमालेका उम्मेदवार घनश्याम पाण्डेले स्वर्गद्धारी गुठी पिडित मोही किसानको हक–अधिकार सुनिश्चिताको लागि प्रतिबद्ध रहेको बताएका छन् ।

स्वर्गद्धारी गुठी पिडित मोही किसान संघर्ष समिति दाङले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० मा आयोजना गरेको संवाद तथा प्रतिबद्धता कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

स्वर्गद्वारी गुठीका पीडित मोही किसानहरूको न्यायपूर्ण माग सम्बोधन गर्ने उनले बताएका छन् । प्रतिनिधि सभामा निर्वाचित भएमा गरीव, बिपन्न तथा सुकुम्बासी समुदायको समस्या समाधान गर्नका लागि निती निर्माणमा भुमिका खेल्ने उनले बताए ।