काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको थरमा विवाद देखिएको छ। बालेन्द्र ‘शाह’ कि ‘साह’ भन्ने शब्दमा विवाद देखिएपछि कानुनी उपचारको खोजीसमेत हुन थालेको छ। नेपाली समुदायमा यी दुवै शब्द प्रचलनमा छन्। दुवै शब्द नेपालमा प्रचलित दुई समुदायले अलगअलग प्रयोग गर्दै आएका छन्।
भावी प्रधानमन्त्रीको दाबीसहित झापा–५ मा उम्मेदवारी दिएका बालेन्द्रले दिएको अभिव्यक्तिपछि यी दुई शब्द ९पहिलो अक्षरमा फरक० मा बहस पनि सुरु भएको छ। प्रधानमन्त्रीका रूपमा प्रस्तावित बालेन्द्रले आफूलाई मधेसको छोरो भनी गौरव गर्दै मधेसी पहिचानसहितको परिचय दिँदा नागरिकतामा देखिएको अक्षरले विवाद ल्याएको हो। ‘म मधेसको तेली साह होइन, जुम्लाको ठकुरी शाह पनि होइन। पूर्वराजा ज्ञानेन्द्रजस्तो शाह पनि होइन। म सूर्यवंशी राजपरिवारको सन्तान हुँ’ भनी बालेन्द्रले दिएको अभिव्यक्ति यसअघि चर्चामा आएको थियो। २०८२ माघ ५ गते जनकपुरको सभामा आफूलाई मधेसी भनेर चिनाएपछि उनको थरबारे देशव्यापी चर्चा हुन थालेको हो।
बालेन्द्रले सुरुमा लिएको नागरिकतामा थर ‘साह’ नै उल्लेख भएको देखिन्छ। उनले जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट नागरिकता प्रमाणपत्र नम्बर ५१९२ को नागरिकता २०६३ पुस ६ मा लिएका थिए। त्यसमा थर ‘साह’ नै लेखिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट मिति २०७९ असार १९ गते प्रथम प्रतिलिपि लिँदा उनले ‘साह’लाई ‘शाह’ बनाएको देखिन्छ। यसलाई अनधिकृत रूपमा नागरिकतामा उल्लिखित जातरथर परिवर्तन गराएको अर्थमा लिइएको छ। सोही प्रतिलिपिमा उनले आफ्नो बुबा ९स्व। रामनारायण साह० को नामको थर ‘साह’को ठाउँमा ‘शाह’ राखेको देखिन्छ। तर यो उनले आफैँ गराएका हुन् वा प्रशासनको त्रुटि हो भनेर खुलेको छैन। यसरी ‘स’ र ‘श’ मा देखिएको फरक उनका मातापिता र दाजुको नागरिकतामा समेत देखिएको छ।
उनले प्रचलित कानुनको उल्लंघन गर्दै वास्तविक विवरण लुकाउने, ढाँट्ने र प्रशासनलाई समेत भ्रममा पार्ने कार्य गरेका हुन् कि होइनन् भन्ने विषयमा केही बताइएको छैन। नागरिकलाई प्राप्त उनको परिवार दाजु कौशलेन्द्र साहको नागरिकतामा भने पुरानै थर देखिएको छ। रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेपछि उनी देशदौडाहमा छन्। यही सन्दर्भमा उनले थर फेरेको विषय चर्चामा आएको हो। यो विषयमा कुरा गर्न उनको सचिवालयमा रहेका कुमार बेनसँग सम्पर्क गर्न कोसिस गर्दा पनि सम्भव हुन सकेन। उनलाई एसएमएसबाट पनि कुरा गर्न खोजियो तर जवाफ आएन।
नागरिकताको विवरणको अनधिकृत हेरफेर गरेको कुरा उनका दाइ कौशलेन्द्र साहको नागरिकता विवरणबाट समेत प्रस्ट भएको छ। कौशलेन्द्र साहको नागरिकता जारी मिति २०६३ पुस ६ गते र प्रथम प्रतिलिपी २०७८ मंसिर १५ मा लिएको र सो नागरिकतामा उनको नाम कौशलेन्द्र साह र बुवाको नाम रामनारायण साह नेपाली नै रहेको देखिन्छ। यसरी कौशलेन्द्र साह दाइ र बालेन्द्र शाह भाइको नागरिकता विवरणको थरमा ‘साह’ र ‘शाह’ भिन्न हुनुले पनि विवाद बढ्न सक्ने आकलन गरिएको छ।
नेपाली समाजमा शाह र साह दुवै थर प्रयोगमा रहे पनि यिनीहरूको ऐतिहासिक र सांस्कृतिक पृष्ठभूमि फरक छ। शाह मुख्यतः नेपालको राजपरिवार ९गोर्खाली राजा० सँग सम्बन्धित छ भने ‘साह’ तराई क्षेत्रमा प्रचलित मधेसी समुदायको थर हो, जसको अर्थ सामान्यतया व्यवसायी वा साहुजी हुन्छ। बालेन्द्र शाहले प्रथम पटक लिएको नागरिकतामा भरिएको विवरण सच्याउने हो भने सोको आधार र कारण ९आवश्यक प्रमाण० समेत पेस गर्नुपर्ने हुन्छ। सो व्यवस्था नेपाल नागरिकता ९दोस्रो संशोधन० ऐन, २०६३ को दफा १७ मा छ। तर आफ्नो थर नै संशोधन गर्नुपर्ने कुनै कानुनी एवं सांस्कृतिक आधार कारण नभए सच्याउन पाइँदैन।
नेपाल नागरिकता ९दोस्रो संशोधन० ऐन २०६३ को दफा १२ मा ‘कुनै नेपाली नागरिकले झुटो विवरण दिई नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रमाणित हुन आए तोकिएको अधिकारीले त्यस्तो नागरिकता रद्द गर्नेछ’ भन्ने व्यवस्था रहेको हुँदा बालेन्द्र शाहले आफ्नो र मातापिताको थरमा कानुनविपरीत गरेको पाइए उनको नागरिकतासमेत रद्द हुन सक्नेछ। कानुनले ‘सानातिना त्रुटि’ जस्तै ‘कुमारी’, ‘देवी’, ‘बहादुर’, ‘प्रसाद’ जस्ता शब्द बढी राखिएको वा छुटेको वा आकार–इकारमा रहेका फरक कुरा मात्र सच्याउन सक्ने व्यवस्था गरेको छ। उनको थर फरक परेको विषयमा जिल्ला प्रशासन कार्यालयमा उजुरी पुगे पनि दर्ता नभएको बताइएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर पौडेलले उनको थर विवादको विषयमा कुनै उजुरी र गुनासो नआएको बताए। ‘काठमाडौं जिल्ला प्रशासन कार्यालयमा कुनै उजुरी र गुनासो आएको छैन,’ प्रजिअ पौडेलले भने। नागरिक दैनिकबाट











