तौलिहवा। काठमाडौँबाट सुर्खेत जाँदै गरेको ना ७ ख ६०४८ नम्बरको बसमा अचानक आगलागी भएको छ । आगलागीबाट बस पूर्णरूपमा जलेर नष्ट भएको छ । गुडिरहेको अवस्थामा अचानक आगो लागेको बस सडक छेउमा रोकिएको थियो ।
बसको बायाँ चक्कामा अचानक आगलागी सुरु भएको थियो । स्थानीयवासी प्रहरी र कपिलवस्तु नगरपालिकाबाट गएको दमकलले आगो निभाउन प्रयास गरे पनि बस आधा घण्टामै पूर्णरूपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पकडीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार घटनामा कुनै मानवीय क्षति नभएको बताए । बसमा सवार सबै ४४ जना यात्रु सकुशल रहेका छन् । आगलागीले यात्रुहरूको बसमा रहेको केही सामग्री समेत जलेर नष्ट भएको छ ।
आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन । वस तौलिहवा भैरहवा सडकखण्ड अन्तर्गत कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६, टिटिहिरियामा आज बिहान आगलागी भएको हो ।











