काठमाडौं । २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा भावी प्रधानमन्त्रीका दाबेदार, प्रमुख दलका शीर्ष नेतादेखि स्वतन्त्रसम्मका दर्जनौँ उम्मेदवार आफैँलाई भोट हाल्नबाट वञ्चित हुने भएका छन् । आफ्नै मतदाता नामावली रहेको निर्वाचन क्षेत्रभन्दा बाहिरबाट उम्मेदवारी दिएका उनीहरू कानुनी व्यवस्थाका कारण आफैँलाई भोट हाल्नबाट वञ्चित हुने अवस्था आएको हो ।
कांग्रेस सभापति गगन थापा, एमाले अध्यक्ष केपी ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, रास्वपा सभापति रवि लामिछाने, रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन०, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफैँलाई भोट हाल्न पाउनेछैनन् । त्यस्तै, कांग्रेस महामन्त्री प्रदीप पौडेल, नेकपाका नेता नारायणकाजी श्रेष्ठ, राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र, एमाले सचिव भानुभक्त ढकाल, कांग्रेसका नेता डा। शेखर कोइरालालगायतका नेता पनि आफैँलाई भोट हाल्न नपाउने उम्मेदवारको सूचीमा छन् । उनीहरू आफ्नो मतदाता नामावली भएकोभन्दा भिन्न क्षेत्रबाट उम्मेदवार बनेका छन् ।
भावी प्रधानमन्त्रीका दुई दाबेदार ओली र बालेन झापा ५ बाट उम्मेदवार छन् । उनीहरू दुवैलाई आ–आफ्ना पार्टीले भावी प्रधानमन्त्रीको उम्मेदवार बनाएका छन् । ओलीको मतदाता नामावली भक्तपुर २ मा छ भने बालेनको मतदाता नामावली काठमाडौं २ मा छ । ओली आठौँपटक यही क्षेत्रबाट उम्मेदवार बनेका छन् । यसरी उनीहरू दुवैले आफैँलाई भोट हाल्न पाउनेछैनन् । नयाँ पत्रिकाबाट











