काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको क्यालेन्डरअनुसार एसइई चैतको पहिलो सातादेखि सञ्चालन गर्नुपर्ने भएपनि दुई सातापछि सारिएको छ । आसन्न २१ फागुनको निर्वाचनका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) दुई साता पछाडि सरेको हो ।
बुधबार बसेको बोर्ड बैठकले १९ चैतदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । चुनावका कारण केही दिन पढाइ प्रभावित हुने तथा अन्य पूर्वतयारी र सुरक्षालाई समेत मध्यनजर गर्दै एसइई सञ्चालनको मिति तय गरिएको बोर्डका पदाधिकारीहरुले बताएका छन् । बोर्डले बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने गरी परीक्षा तालिकासमेत सार्वजनिक गरेको छ । एसइईको पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृततर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा हुनेछ ।
यसपटक सबै गरेर पाँच लाख १७ हजारहाराहारी विद्यार्थी सहभागी हुनेछन् । नियमिततर्फ चार लाख ५२ हजारहाराहारी विद्यार्थी सहभागी हुनेछन् भने ग्रेडवृद्धि तथा पुरानोतर्फ ६५ हजार पाँच सयहाराहारी विद्यार्थी एसइईमा सहभागी हुनेछन् ।











