दाङ । दाङको लमहीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बसको ठक्करबाट मोटरसाइकल चालक लमही नगरपालिका–५ कोलही निवासी २२ वर्षीय विशाल चौधरीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव परिक्षक चक्रबहादुर शाहका अनुसार लमहीबाट रिहार जाँदै गरेको लु २ ख १०९८ नम्बर बसले रिहारदेखि लमहीतर्फ आइरहेको लु ३९ प ८९६१ नम्बरको मोटरसाइकललाई आज बेलुका ठक्कर दिएको थियो ।

दुर्घटनामा बसमा सवार राप्ती गाउँपालिका–४ निवासी मिना ठकुरी, शिला परियार र मोटरसाइकल सवार लमही नगरपालिका–५ कोलही निवासी अशोक चौधरी र बस धनी सुशील वली घाइते छन् । घाइतेको लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।