सल्यान । सल्यानको कालीमाटीमा एक हप्तामा तीन जना बाघको सिकार भएका छन् । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्र आसपासमा एक हप्ताको अवधिमा बाघको आक्रमणमा परेर तीन जनाले ज्यान गुमाएका हुन्।
गाउँपालिका अध्यक्ष दानबहादुर केसीका अनुसार पुस २३ गते बाघले कालीमाटीको सीमा क्षेत्र सुर्खेत जिल्लाको भेरीगङ्गा नगरपालिका वडा नं–५ गेरुवानीका ५७ वर्षीय बासिन्दा गङ्गादेवी सारु मगरको ज्यान लिएको थियो । यस्तै पुस २५ गते कालिमाटी–७ मा ४२ वर्षीय धनसरी रावत र पुस २९ गते मङ्गलबार वडा नम्बर–६ हात्तीढुङ्गामा ६६ वर्षीय चन्द्रबहादुर खप्तडीको बाघको आक्रमणबाट ज्यान गएको थियो ।
यसरी एक सातामै बाघबाट ठूलो मानवीय क्षति भएपछि गाउँपालिकाले बाघ मार्ने आदेश मागेको छ । गाउँपालिकाभित्र बाघ मानव बस्तीमा प्रवेश गरी मानिसको ज्यान लिने, घरपालुवा पशु मार्ने तथा स्थानीयलाई असुरक्षित बनाएको भन्दै गाउँपालिकाले डिभिजन वन कार्यालय सल्यानलाई बाघ मार्ने आदेश जारी गर्न पत्राचार गरेको हो ।
मानव जीवनलाई अति खतरामा पारेको, स्थानीय नागरिकहरूलाई दैनिकीका लागि अत्यन्त असहज स्थिति सिर्जना गरेको, विभिन्न क्षेत्रमा किसानको गोठमा पुगेर बाघले गाईवस्तु मारेर खाएको उल्लेख गर्दै गाउँपालिकाले बाघलाई मार्ने वा अन्य सुरक्षित तरिकाबाट नियन्त्रण गर्ने आदेश तत्काल जारी गर्न अनुरोध गरेको छ।
बाघको आक्रमणका कारण स्थानीय नागरिक त्रसित अवस्थामा बस्न बाध्य भएको र यसले राज्यको नागरिकको जीवन रक्षा गर्ने दायित्वमाथि प्रश्न खडा गरेको गाउँपालिकाले जनाएको छ ।
यसअघि मङ्गलबार नै कालीमाटी गाउँपालिकाले एक विज्ञप्ति सार्वजनिक गर्दै बाँके राष्ट्रिय निकुञ्जसँग सिमाना जोडिएको मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको निरन्तर आक्रमणका कारण नागरिकहरुले अकालमा ज्यान गुमाउन परेको घटनाप्रति ध्यानाकर्षण गराएको थियो ।












