काठमाडौँ । भृकुटीमण्डवमा कांग्रेस इतरपक्षको विशेष महाधिवेशन चलिरहेको छ । महाधिवेशन आयोजक महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा विशेषबाटै नयाँ नेतृत्व चयन गर्ने संघारमा पुगेका छन् । सोही क्रममा उनीहरुले पार्टीलाई विभाजनबाट जोगाउने भन्दै संस्थापन पक्षसँग वार्ता पनि सँगसँगै चलाएका छन् । तर वार्ताबाट कही पार नलाग्ने देखिएको छ ।

विशेष महाधिवेशन पक्षधर नेताहरूले नेतृत्व नै प्रमुख मुद्दा बनाउदै तीन विकल्प अघि सारे । पहिलो, विशेष महाधिवेशनबाटै नयाँ केन्द्रीय कार्यसमिति निर्वाचन गर्ने, दोस्रो सभापतिले राजीनामा दिने र नेतृत्वमा मात्रै निर्वाचन गर्ने, तेस्रो संस्थापन पक्षले चाहेकै व्यक्तिसमेत हुने गरी अन्तरिम सभापति बनाउने । तर यी विकल्पमा संस्थापन पक्ष तयार भएन ।

सहमतिका लागि मंगलबार राति अबेरसम्म गरिएको पहल निष्कर्षमा पुग्न नसकेपछि कांग्रेस विभाजनको संघारमा पुगेको छ । विशेष महाधिवेशन पक्षधरले राखेको नेतृत्व परिवर्तनको अडानमा सभापति शेरबहादुर देउवा तयार नभएपछि सहमति हुन सकेन । अहिले महामन्त्रीद्वय थापा र शर्मा नयाँ नेतृत्व चयन गर्ने गृहकार्यमा जुटिसकेका छन् ।
विकल्पमा संस्थापन तयार नभएपछि ‘हाइकमान्ड’ बनाउने विकल्प अघि सारिएको छ । सभापतिलाई ‘सेरेमोनियल’ भूमिकामा राखेर कार्यवाहक सभापति, महामन्त्रीद्वय र १४ औं महाधिवेशनका मुख्य प्रतिस्पर्धी नेतासहितको ‘हाइकमान्ड’ मार्फत पार्टी सञ्चालन गर्ने विकल्प अघि सारिएको थियो ।