काठमाडौँ । वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन भएको छ । उपचारका लागि मैतीदेवीस्थित निवासबाट वीर अस्पताल ल्याउने क्रममा ८४ वर्षको उमेरमा दाहालको निधन भएको हो । उनको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
वि.सं. १९९८ कात्तिक २५ गते ओखलढुङ्गाको साविक वरुणेश्वर गाउँ विकास समिति–३, रामपुरमा जन्मिएका दाहाल नेपालको पत्रकारिता क्षेत्रको विकास, अभिव्यक्ति स्वतन्त्रताको रक्षा र लोकतन्त्र स्थापनाका लागि अदम्य साहस, निष्ठा र संघर्षका प्रतीकका रूपमा परिचित छन् ।
पञ्चायतकालको कठोर निरंकुश शासनमा समेत अन्यायका विरुद्ध सत्यको पक्षमा कलम चलाउँदै दाहालले जनताको आवाज बुलन्द पार्न महत्त्वपूर्ण योगदान दिएको बताइन्छ । पञ्चायतकालमा “राष्ट्रपुकार साप्ताहिक” मार्फत प्रेस स्वतन्त्रताको पक्षमा आवाज उठाउँदा उहाँ पटक–पटक पक्राउ परेको र करिब तीन वर्ष जेल जीवन बिताएका थिए ।
पत्रकारिता यात्रामा “नयाँ सन्देश साप्ताहिक”का सहायक सम्पादकदेखि “राष्ट्रपुकार साप्ताहिक”का सम्पादक तथा प्रकाशकसम्म रहेका दाहाल नेपाल पत्रकार महासंघका सभापति (वि.सं. २०४९–२०५१) का रूपमा पत्रकारहरूको हक, हित र अधिकारका लागि अग्रणी भूमिका निर्वाह गरेका थिए । उनले प्रेस काउन्सिल नेपालका सदस्यका रूपमा पनि प्रेसको मर्यादा र नीतिगत सुधारमा योगदान दिएका थिए ।











