देउखुरी । दाङको राप्ती गाउँपालिकाले दोस्रो गाउँसभाको आठौँ अधिवेशन शुरु गरेको छ ।  अधिवेशनको पहिलो बैठकमा सार्वजनिक महत्वका तीनवटा विधेयक पेश गरिएको छ ।

गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा शुरु भएको बैठकमा गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीले आर्थिक वर्ष २०८२–८३ को बजेट तथा कार्यक्रमको रकमान्तर प्रस्ताव, सभाका सदस्य तथा आर्थिक विकास समिति संयोजक गेमे खड्काले राप्ती गाउँपालिकाको व्यवसाय दर्ता विधेयक र सुशासन विकास समिति संयोजक देवप्रसाद चौधरीले कर्मचारीहरूको सेवा, सुविधा तथा शर्त सम्बन्धी राप्ती गाउँपालिकाको करार सेवा विधेयक पेश गरेका हुन् ।

त्यसैगरी सभा सदस्य तथा सामाजिक विकास समिति संयोजक पहलवान चौधरीले राप्ती गाउँपालिकाको दलित सशक्तिकरणसम्बन्धी व्यवस्था विधेयक पेश गरेका छन् । पेश भएका विधेयकहरू अधिवेशनको आगामी बैठकमा छलफल गरी निर्णयार्थ प्रस्तुत गरिनेछ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ तथा लुम्बिनी प्रदेशको गाउँ सभा–नगर सभाको (कार्य सञ्चालन) कार्यविधि ऐन, २०७६ को दफा ३ (१) बमोजिम आज विहीबारदेखि अधिवेशन भएको हो ।