इन्द्रेणी संवाददाता
दाङ । दाङमा प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले घोराही १३ बनगाउँ चौतारा टोलस्थित सम्पदा विकको घरमा बस्दै आएका रुकुम पूर्व भुमे गाउँपालिका २ घर भएका २९ वर्षकी रुपा बुढा मगर र पुथाउत्तर गंगा १ बस्ने ३० वर्षकी हासी पुन मगरलाई पक्राउ गरेको छ ।

त्यहाँ उनीहरुले लागुऔषध चरेशको कारोवार गर्दैछन् भन्ने सूचना पाएपछि प्रहरीले उनीहरुलाई ९ किलो ६१९ ग्राम चरेशसहित नियन्त्रणमा लिएको हो । उनीहरुलाई पुस २१ गते पक्राउ गरिएको र जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिएका छन् ।

त्यसैगरी रुकुम पूर्व भूमे २ घर भई हाल घोराही १३ बस्ने ३४ वर्षकी विनमाया पुन र सोही ठाउँका ३९ वर्षका दिपक पुनलाई पनि प्रहरीले लागुऔषध चरेशसहित पक्राउ गरेको छ । उनीहरुबाट ७७४ ग्राम चरेश पनि प्रहरीले बरामद गरेको छ । दुबै जनालाई अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।