झापा । झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज दुर्घटनाभएको छ । गए राति ९ बजे भएको दुर्घटनामा सात जना सामान्य घाइते भएका छन् ।

काठमाण्डौबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर ७२ जहाज भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रन–वेको पूर्वतर्फ ३०० मिटर ओभर रन भई जहाज घाँसे झाडी र माटोमा भासिएर दुर्घटना भएको झापा प्रहरीले जनाएको छ ।

जहाजमा ५१ जना यात्री, चार जना चालक दलका सदस्य र एक जना विमानका इन्जिनियर थिए । तीमध्ये ललितपुर–४ निवासी को–पाइलट २४ वर्षीय सुशान्त श्रेष्ठ र अरु ६ जना जना यात्रु सामान्य घाइते भएका हुन् । घाइतेलाई नेपाल प्रहरीको उद्धार टोलीले तत्कालै भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलमा उपचारका लागि पुर्याएको थियो ।

दुर्घटनामा को–पाइलट श्रेष्ठको टाउको र अनुहारमा चोट लागेको छ । घाइते को–पाइलट श्रेष्ठको अस्पतालमा उपचार भइरहेको छ भने अरु ६ जना जना घाइते सामान्य उपचारपछि ‘डिस्चार्ज’ भएर घर फर्किसकेको प्रहरीले जनाएको छ ।