काठमाडौं । नेपाली कांग्रेसको आज बसेको केन्द्रीय कार्यसम्पादन समितिले बैठकमा २०८३ वैशाखमा पार्टीको नियमित महाधिवेशन गर्न प्रस्ताव गरिएको छ ।

बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वैशाख मसान्तमा १५ औ महाधिवेशन गर्ने गरी प्रस्ताव प्रस्तुत गरेका हुन्। बैठकमा खड्काले बैशाख २८, २९, ३० र ३१ गते महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका प्रस्ताव गरे । साथै बैठकमा सभापति शेरबहादुर देउवासहित कार्यसमितिको सो समयसम्म कार्यकाल थप गर्ने प्रस्ताव पनि गरिएको बैठकमा सहभागी एक काग्रेस नेताले बताए ।

प्रस्तावित कार्यतालिकाअनुसार आगामी चैत २१ गते गाउँ नगर अधिवेशन तय गरिएको छ। त्यस्तै चैत २५ गते गाउँ नगरपालिका अधिवेशन, चैत २८ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन तय गरिएको छ भने वैशाख २ गते एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र र वैशाख ५ गते दुई वा त्यसभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन र वैशाख १० देखि १२ गतेसम्म प्रदेश अधिवेशन गर्ने प्रस्ताव गरिएको छ।

यसअघि संस्थापन पक्षले नियमित महाधिवेशनमा चासो नदेखाएपछि महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ देखि २८ गतेका लागि विशेष महाधिवेशनको आहन गरेका थिए ।